Section 10
परिषद्को बैठक
(१) परिषद्को बैठक वर्षको कम्तीमा दुई पटक बस्नेछ ।

(२) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) सदस्य-सचिवले अध्यक्षसँगको परामर्शमा परिषद्को बैठक बस्ने मिति, समय, स्थान र बैठकमा छलफल हुने विषयको सूची सहितको सूचना बैठक हुनुभन्दा कम्तीमा सात दिन अगावै सबै सदस्यलाई पठाउनु पर्नेछ ।

(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि परिषद्को कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्यले बैठक बोलाउन अध्यक्ष समक्ष लिखित अनुरोध गरेमा अध्यक्षले त्यसरी अनुरोध गरेको मितिले सात दिनभित्र परिषद्को बैठक बोलाउनु पर्नेछ ।

(५) परिषद्को कूल सदस्य सङ्ख्याको कम्तीमा एकाउन्न प्रतिशत सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

तर कुनै कारणवश यस उपदफा बमोजिम गणपूरक सङ्ख्या नपुगेको कारणले बैठक बस्न नसकेकोमा त्यसपछि लगत्तै बस्ने बैठकमा तत्काल कायम रहेको सदस्य सङ्ख्याको कम्तीमा तेत्तीस प्रतिशत सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

(६) परिषद्को बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता उपाध्यक्षले र निजहरु अनुपस्थित भएमा मन्त्रालयको सचिवले अध्यक्षता गर्नेछ ।

(७) परिषद्को बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

(८) परिषद्ले कुनै विशेषज्ञ वा पदाधिकारीलाई परिषद्को बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

(९) परिषद्को बैठकको निर्णय बैठकको अध्यक्षता गर्ने व्यक्तिद्वारा प्रमाणित गराई सदस्य-सचिवले सोको अभिलेख सुरक्षित राख्नु पर्नेछ ।

(१०) परिषद्को बैठकमा उपस्थित भए बापत अध्यक्ष, उपाध्यक्ष र सदस्यहरुले नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत मापदण्ड बमोजिमको बैठक भत्ता पाउनेछन्‌ ।

(११) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद्‌ आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।